लघुवित्तले धनकुमारीलाई साहसी बनी बाच्न
Syangja / Gandaki Pradesh / स्याङजा, आरुखर्क–७
Phedikhola Small and Micro Banking Desk
372021-01-08
जिन्दगी एउटा विचित्रको कथा रहेछ । हरेक मानिस एउटा आनन्दको साथ जीवन यापन गर्ने एउटा रंगीन सपनामा रहन्छ तर उसको वास्तविकताकोे चक्र उसले सोचे भन्दा फरक हुन्छ । अनि रहन्छ उसको एउटा उतार चढावको जिन्दगीको एउटा यात्रा नचाहँदा नचाहँदै पनि व्यक्ति यात्रामा एउटा बटुवा सरी मानिस निरन्तर रुपमा यात्रा गर्न बाध्य हुन्छ । कसलाई नहोला एउटा आन्नदको साथ जिन्दगी विताउने रहर तर परिस्थिती अनि समयको चक्रले मानिसलाई कता लैजान्छ खै कता । नामले धन भए पनि धनको अभावै अभावमा संर्षष गरेकी धन कुमारी शर्माको कथा हो यो ।
बाबा आमाको माईली छोरीको रुपमा स्याङजाको आरुखर्क–७ मा मिति २०२७।०१।०५ जन्मिएकी हुन धनकुमारी । उनको परिवारमा १ दाई १ भाई २ दिदिबहिनी र बुवा आमा गरी ६ जनाको परिवार थियो । परिवारमा बुवा आमा चाहिँ कृषि नै गर्नु हन्थ्यो ।जेनतेन गुजाराको जिन्दगी चलिरहेको थियो । ६ जनाको परिवारको लालनपालन गर्न छोराछोरी पढाउन हम्मे हम्मे परिरहेको थियो । नाजुक आर्थिक अवस्थाको कारणले धन कुमारीको १४ बर्षको कलिलो उमेरमा कास्की जिल्ला पुम्दी भूम्दी गा.वि.स.वडा न.४ स्थित कुल प्रसाद शर्मासँग विवाह भयो । श्रीमान् गाँउको सामान्य कृषक, खेतीपातीमा नै दिन विताउनु पर्ने तर आम्दानी भने थोरै जसले गर्दा समस्या पर्ने, यस्तै–यस्तै आर्थिक समस्याले गर्दा धन कुमारीको सल्लाह अनुसार साहुसंग ऋण काढी पैसा कमाएर सुखको साथ दिन विताउने सपना बोकी श्रीमान्लाई भारत नोकरी गर्न पठाईन् । विधाताको बिडम्बना भनौ या समयको खेल भनौ, श्रीमान्ले भारतबाट पैसा कमाएर ल्याई सुखका दिन बिताउने धनकुमारीको सपना आखीर सपनामै सिमीत रहन पुग्यो । जेनतेन चलेको जिन्दगी झन्झन् कष्टकर बन्न पुग्यो । भारत गएका श्रीमान् एक वर्षमा नै मानसिक रोग बोकेर घर फर्कनु पर्यो । घर फर्कदा श्रीमान्को साथमा एक पैसा पनि थिएन । मेलापात गरेर बचाएको पैसाले श्रीमान्लाई औषधी उपचार गर्ने प्रयास गरिन् । डाक्टरले उनको श्रीमान्लाई मानसिक रोगी भएको घोषणा गरे । उपचारको क्रम जारी नै रह्यो । विवाह अघि कल्पना गरेको संसार अनि देखेको सपना र विवाह पछि भोगेको वास्तविक जिन्दगी बीच आकास र जमिनको फरक पाईन् उनले ।